वाम्बुले राई भाषाको ११ औं कविगोष्ठीमा कमल प्रथम

गणेश राई
काठमाडौं, २०६६।०६।२९

वाम्बुले राई भाषाको एघारौं वर्षको कविगोष्ठीमा ओखलढुंगा मानेभन्ज्याङका कवि कमल राई पहिलो भएका छन् । वाम्बुले राई समाज नेपाल (वाम्रास) र वाम्बुले राई साहित्य प्रकाशन ‘लिब्जु-भुम्जु’ त्रैमासिक पत्रिका परिवारको संयुक्त आयोजनामा खोटाङको बाहुनीडांडा-७ झाप्पागाउँमा यही असोज २८ गते कविता प्रतियोगिता सम्पन्न भएको हो ।

‘एघारौं वाम्बुले राई भाषा यलम्बर स्मृति कविगोष्ठी-२००९’ नाम दिइएको गोष्ठीमा दोस्रो पुरस्कार ओखलढुंगा थाक्ले-८ का कवि जन्तराम राई र ओखलढुंगा मानेभन्ज्याङ-६ का कवि नामेश राईले तेस्रो पुरस्कार जितेका छन् । खोटाङ ओखलढुंगा र उदयपुरलगायतका १ सय ३८ कवि सहभागी रहेको प्रतियोगितामा खोटाङ बाहुनीडांडा-५ का दिलिप राई र रिखाधन राई डिकुवा-४ का फुलमति राई बाहुनीडांडा-६ का साजय राई र ओखलढुंगा उँबुका प्रदीप राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

हिजो असोज २८ गते बिहानी सुरु भएको कविगोष्ठी आज बिहानी ४ बजेसम्म निरन्तर साचालन गरिएको वाम्बुले राई समाज खोटाङका अध्यक्ष सु धीरकुमार राईले टेलिफोनमार्फत जानकारी दिनुभएको छ । कविगोष्ठीका साथसाथै स्थानीय कलाकारहरुले मातृभाषामा गीत गायन नाच नाटक प्रहसन तथा प्रदर्शन बिनायो बाँसुरी वादन गरी मनोराजन दिलाएका थिए ।

विजयी कविहरुलाई प्रमुख अतिथि धनसुन्दर राई अध्यक्ष सु धीरकुमार राई वाम्बुले राई समाजका केन्द्रीय सचिव रामकुमार राई र लिब्जु-भुम्जु पत्रिकाका सह-सम्पादक मिलन कान्छा राईले नगद पुरस्कार तथा सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

मातृभाषा संरक्षण गर्ने क्रममा वाम्बुले राई भाषाको कविता गोष्ठी २०५५ सालबाट सुरु गरिएको हो । एघारौं कविगोष्ठीको संयोजन वाम्बुले राई समाज वाम्रास जिल्ला कार्यसमिति खोटाङ र सह-संयोजन स्थानीय स्वायोङ स्टार क्बल खोटाङलगायतले गरेका हुन् ।

गणेश राई
महासचिव तथा सम्पादक लिब्जु-भुम्जु त्रैमासिक
मो. ९८४१२५६४८८